(Monday, 21 October, 2019)
 | News

योजना आयोग उपाध्यक्षको सपथ

नीतिगत र मुल्याङकनको काम अघि बढाउन मुख्यमन्त्रीको निर्देशन

बुटवल चैत १८ । मुख्यमन्त्री शंकर पोखरेलले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा नियुक्त डा.प्रकाश श्रेष्ठलाई आज सपथ गराउनुभएको छ ।

मुख्यमन्त्री कार्यालयको सभाकक्षमा सपथग्रहण भएको हो ।

सपथग्रहणपछि मुख्यमन्त्री पोखरेलले योजना आयोगले मन्त्रालयले गरेका योजना 

सिफारिशलाई मात्रै ध्यान दिने नभइ नीतिगत र मुल्याङकनको काम गरी अघि बढ्न निर्देशन दिनुभयो । ‘आर्थिक श्रोत पहिचान र परिचालन गर्न बाटो देखाउने निकायको रुपमा  योजना आयोगले काम गर्नुपर्छ, त्यस्तो ढंगले काम गर्ने वातावरण सरकारले तयार गर्छ—उहाँले भन्नुभयो ।

मुख्यमन्त्रीले प्रदेश योजना आयोगले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउने र सरकार त्यसै अनुसार अघि बढ्ने बताउनुभयो । ‘यसले प्रदेश विकासको अवधारणा तयार गर्नेछ—उहाँले भन्नुभयो ।

सरकारले प्रदेशको अहिलेको यथार्थ अवस्था बाहिर ल्याउन लागिरहेको बताउँदै उहाले यसै महिनाभित्र नीति तथा कार्यक्रम र बजेट आउने बताउनुभयो । ‘यसपालीको बजेट नमूना बजेट हुन्छ, अहिले आकारमा सानो हुने र सिकाइको रुपमा प्रस्तुत हुनेछ—उहाँले भन्नुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले केन्द्रीय बैंकमा बसेर गरेको अनुभवलाई प्रयोग ल्याउने अवसर दिएकोमा मुख्यमन्त्रीलाई धन्यवाद दिनुभयो । उहाँले अहिलेसम्म  हासिल गरेको ज्ञान र सीप प्रदेशको विकासमा लगाउने अवसर  पाउँदा  खुशी लागेको बताउनुभयो ।

सपथग्रहणमा प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख सचिव लगायतका उच्च पदस्थ कर्मचारीहरु, कानुन मस्यौदा आयोगका अध्यक्ष र सदस्यहरु, मुख्यन्यायाधीवक्ता र पत्रकारहरुको उपस्थिति रहेको थियो ।